काठमाडौं । सशस्त्र प्रहरी बल नं.२६ गण पश्चिम नवलपरासीले ‘२३औं सशस्त्र प्रहरी दिवस २०८०’ भव्य रुपमा मनाएको छ । सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित साताब्यापी विभिन्न खेलकुद तथा ब्याबसायीक प्रतियोगितामा प्रथम हुने १६ जना सशस्त्र प्रहरीलाई पुरस्कार प्रदान गर्नुका साथै सशस्त्र प्रहरीलाई सहयोग गर्ने स्थानीय दुई जनालाई सम्मान गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी बलले गरेको सीमा सुरक्षा र जिल्लाको शान्ति सुरक्षाप्रति गरेको जिम्मेवारीको उच्च मुल्यांकन गरिने बताए । सशस्त्र प्रहरीले सिमित श्रोत साधन र चुनौतीपूर्ण मौसमको अवस्थामा पनि जिल्लाभरमा सशस्त्र प्रहरीको कार्यसम्पाद्न उत्कृष्ट रहेको बताउँदै आगामी दिनमा अझै सशस्त्र प्रहरीले उत्कृष्ट कार्य गर्ने विश्वास लिएको उनले बताए।
त्यस्तै एसपी धिरेन्द्र राज न्यौपानेले जिल्लाभरको शान्ति सुरक्षा लगायत अन्य कार्यमा सशस्त्र प्रहरीलाई विशेष सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय , सुरक्षा निकाय, स्थानीय सरकार, पत्रकार, नागरिक समाजलगायत सरोकारवाला सबैलाई आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहने बताए।


