काठमाडौं । सेवाग्राहीबाट ३ लाख ५० हजार रूपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका पोखरा महानरपालिकाका इन्जिनियर शिवप्रसाद बरालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको हो।
महानगरमा कार्यरत सब(इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने नाममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको पोखरा कार्यालयको टोलीले गत चैत २८ गते नियन्त्रणमा लिएको थियो।
अख्तियारका अनुसार, कन्सल्टेन्सी सञ्चालक सुरज कुँवरले २ लाख रूपैयाँ उषाकिरण रोकायालाई दिएको र उक्त रकम रोकायाले इन्जिनियर शिवप्रसाद बराललाई दिएको पाइएको छ।


