काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार नक्कली लाइसेन्स वितरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूलाई फर्जी विवरण राखेर ३ सयभन्दा बढी नक्कली लाइसेन्स वितरण गरेको आरोप लगाएर मुद्दा दायर भएको हो ।
यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले अनुसन्धान गरेको थियो। नक्कली लाइसेन्स प्रकरणका ९ जना फरार छन्।
अभियोगपत्रमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरू लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे र पदमराज आचार्य, सहायक पाँचौं सुवास पौडेलसहित १५ जनालाई दोषी देखाइएको छ।
आरोपीमध्ये केसव अर्याल, पदमराज आचार्य, सुवास पौडेल, राजेश लम्साल, दिलीप कुमार शाह, केशब पौडेल प्रहरी हिरासतमा छन्। त्यस्तै फरार रहेका आरोपीमा लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, विनोद भण्डारी, ज्ञानराज पाण्डे, नारायाण प्रसार पाण्डे, विवेक भण्डारी, विजय चौधरी, फानेश्वर सापकोटा र संदीप श्रेष्ठ छन्।