काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा रमेश कुमार बखती नियुक्त भएका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का पूर्व निर्देशक भइसकेका बखती चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धाबाट उनी कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । मन्त्रालयका सहसचिव मदन दहालको संयोजकत्वमा गठन गरिएको समितिले प्रारम्भिक छनौटमा परेका ६ जनामध्येबाट बखतीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । सो पदका लागि ११ जनाको आवेदन परेको थियो ।
सञ्चालक समितिबाट सर्वसम्मत नियुक्तिका लागि सिफारिस गरिए अनुसार सोमबारनै मन्त्रालयका सचिव स्तरको निर्णयबाट बखतीलाई नियुक्ति दिइएको छ । सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था छ । सचिव मुकुन्द प्रसाद निरौलाबाट शपथ ग्रहणसमेत गरिसकेका कार्यकारी निर्देशक बखतीले बुधवारदेखि कार्यभार सम्हाल्दै छन् ।


