काठमाडौं । सांसदहरुले महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएका विषयमाथि संसदमा छलफल गर्नपर्न धारणा ब्यक्त गरेका छन् ।
संघी संसद् सचिवालयले आज आयोजना गरेको ‘महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र संसद्को भूमिका’ विषयक अन्तरक्रियामा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
छलफलका क्रममा सांसद श्रीकृष्ण प्रसाद अधिकारीले महालेखापरीक्षकको प्रतिवेदन संसदमा पनि छलफल गर्न आवश्यक रहेको बताए । यसैगरी अर्का सांसद चन्द्रबहादुर विश्वकर्माले लेखापरीक्षणका लागि जनशक्ति अपुग रहेका कारण कार्यसम्पादनमा समस्या रहेको विषय उठाएका थिए ।
सांसद वीना लामाले पछिल्ला वर्षहरूमा स्थानीय तहमा बेरुजु बढ्दै गएको पनि उनले उल्लेख गरिन् ।
सांसद सुमित्रा बिसीले कानुनले तोकेको अवधिभित्र बेरुजु फर्छ्यौट र असुलउपर हुन नसक्नु चिन्ताको विषय रहेको बताइन् । सांसद सुशीला श्रेष्ठले स्थानीय तहलाई लेखापरीक्षण प्रक्रियाबारे कम जानकारी रहेका कारण बेरुजु बढेको धारणा राखे ।