काठमाडौं । स्वतन्त्र निजामती कर्मचारी अभियानले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएर पनि विशेष परिस्थितिजन्य कारणले जारी हुन नसेकेको संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउन सरकारसमक्ष जोडदार माग गरेको छ ।
अभियानले मुख्य रुपमा अहिले कायम रहेका दलीय ट्रेड युनियन खारेज गरी निजामती कर्मचारीहरुको सामूहिक सौदाबाजीका लागि एक मात्रै ट्रेड युनियन कायम गरिनुपर्ने, कुलिङ अफ पिरियड राख्न नहुने र १४ वर्षमा एक श्रेणी वा तल्लो तहबाट लोकसेवा खुल्ने पदमा बढुवा गरिनुपर्ने विषयहरु थपिनु आवश्यक रहेको जिकिर गरेको छ । अभियानका संयोजक पशुपति पोखरेलले आज जारी गरेको अपीलमा यस्तो आग्रह गरिएको हो ।
अभिायानले आफ्ना माग पुरा गराउन दबाव दिने उदेश्यले आगामी मंसिर १ गतेदेखि माइतीघर मण्डलामा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सत्याग्रह गर्ने निर्णय समेत गरेको छ ।
यसका लागि प्रचारप्रसार र सबैसँग छलफल गर्ने, राजनीतिक दल दलीय ट्रेड युनियनहरु र जेनजीसँग साझा धारणा बनाउन पहल गर्ने, तथा चक्रीय र अनुमानयोग्य सरुवा प्रणाली लागू गर्ने निजामती अस्पतालाई थप सुधार गरेर कर्मचारीमैत्री सेवा दिनुपर्ने लगायतका ८ बुँदे माग प्रस्तुत गरेको छ ।




