काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातेदारलाई नियुक्ति दिइएको विषयमा जेनजीहरूको संस्था नेपाल जेनजी फ्रन्टले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको खबर आएपछि नेपाल जेनजी फ्रन्टले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग भएको नेपाल जेनजी फ्रन्टले बताएको छ । नेपाल जेन(जी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेकी छन्।


