काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बताएका छन् ।
शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा इतर पक्षद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले पार्टीको विचार र इतिहास गौरवमय रहेकाले आन्तरिक एकता कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। कांग्रेसको महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिएर नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताए।
‘अधिवेशन हाम्रो लागि एउटा परीक्षाको समय पनि हो,’ उनले भने, ‘अधिवेशन चानचुने कुरा होइन, यसका लागि धेरै काम र मेहनत गर्नुपर्छ।’
‘नेपाली कांग्रेस भनेको बलियो विचार भएको पुरानो पार्टी हो,’ संयोजक कोइरालाले भने, ‘पुरानो भन्दाखेरि फाटेको होइन, पुरानो तर त्यसमा नयाँ जोशका साथ हामी जाँदैछौं ।’
महाधिवेशनलाई सफल बनाउन उनले सबैको साथको अपेक्षा पनि गरे । यससँगै कांग्रेस फुटको संघारमा पुगेको छ ।


