काठमाडौं । विदुर नगरपालिकाले बाढीबाट विस्थापित भएका नगरवासीलाई तत्काल प्रतिपरिवार १० हजार रुपैयाँ घर भाडा र खाद्यान्न, लत्ताकपडा, किचेन सेट तथा हाइजिन सेट जस्ता राहत सामग्री प्रदान गर्ने निर्णय गरेको छ।
आइतबार बसेको नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीको कारण बस्न योग्य घर नभएका स्थानीयवासीलाई नगरपालिकाले घर भाडामा लिएर बस्न अनुरोध गर्दै भाडावापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो।
निर्णय अनुसार विदुर नगरपालिकाभित्र बस्न योग्य घर नभएका नगरवासीलाई नगरपालिकाले घर भाडामा लिई बस्नका लागि तत्काल प्रतिपरिवार १० हजार रुपियाँका दरले रकम उपलब्ध गराउनेछ। यसका साथै प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, किचेन सेट र हाइजिन सेट जस्ता सामग्रीसमेत प्रदान गरिनेछ। कोठा वा घर भाडामा लिँदा-दिँदा कसैले प्रचलित भाडादरभन्दा बढी लिएको पाइएमा प्रचलित कानून अनुसार कारबाही हुने चेतावनी दिइएको छ।


