काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र मासिएको र राष्ट्रिय अस्मिता कमजोर पारिएको भन्दै त्यसको पुनर्प्राप्तिका लागि आन्दोलन अनिवार्य रहेको बताएका छन् ।
सोमबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले विगतमा पटक–पटक पार्टीलाई घेराबन्दीको प्रयास भइरहेको भन्दै आगामी निर्वाचन नजिकिँदै गर्दा अहिले पनि पार्टीविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका हुन् ।
उनले लोकतन्त्र मासिएको, राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको अवस्थामा तिनको पुनरुत्थान अनिवार्य सर्त रहेको उल्लेख गरे । राष्ट्रियताको पक्षमा उभिँदा दमन भए आन्दोलन र प्रतिवादमा उत्रिने उनले बताए ।
