काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित पाँचविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार लिखु गाउँपालिका– ९ मा आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता भएको पाइएको छ। भत्ता वितरणका क्रममा आफ्नै औँठाछाप लगाएको, दोहोरो नाम समावेश गरेको तथा मृत्यु भइसकेका र बसाइँसराइ गरेका लाभग्राहीलाई समेत भत्ता वितरण गरेको देखाएर रकम हिनामिना गरेको आरोप छ।
आयोगले सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा सामाजिक सुरक्षा भत्ताजस्तो संवेदनशील कार्यक्रमको रकममा भएको अनियमिततासम्बन्धी कसुरमा कानुनी कारबाही अघि बढाएको हो। अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ३१ लाख ६७ हजार दुई सय रुपैयाँ बिगो कायम गरेको छ।

