काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट नहाल्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्।
बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टीमा बसेर पार्टीकै विरुद्ध जाने प्रवृत्ति अब स्वीकार्य नहुने चेतावनी दिए। पार्टी नछाड्ने तर भोट भने अन्य दलका उम्मेदवारलाई दिने जस्तो बेइमानी अरू केही हुन सक्ने बताए।
उनले भने, ‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ। पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन। भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो।’
जिल्लास्तरमै पार्टीविरुद्ध गतिविधि गर्नेहरूलाई कारबाही गरेर केन्द्रमा सिफारिस पठाउन निर्देशन दिए। केन्द्रले पनि प्राप्त जानकारीका आधारमा छानबिन गरी आवश्यक कारबाही गर्ने प्रस्ट पारे।

