काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर अधिकृत तहमा जागिर खाने छैटौं तहकी हीम कुमारी सुनार पुन दोषी ठहर भएकी छिन् । नेपालगञ्ज, बाँकेस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा अधिकृत (छैटौं तह) मा कार्यरत हीम कुमारी सुनार पुन उपर अख्तियारले दायर गरेको शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी मुद्धामा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।
बिशेष अदालतका न्यायाधीशहरू खुशीराम थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।
सुनार पुनले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी, भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राजपत्रअनंकित द्वितीय श्रेणीको महिला कार्यकर्ताको पदमा नियुक्ति भई पछिल्लो समय अधिकृतस्तरको छैटौं तहमा कार्यरत रहेको भेटिए पछि अख्तियारमा उजुरी परेको थियो ।


