काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी वर्षका लागि बजेट सिलिङ थोरै राखेको भन्दै गुनासो गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सचिव शर्माले अर्थ मन्त्रालयले १२४ अर्बको सिलिङ तोकेको भन्दै आगामी आर्थिक वर्ष २०८१/८२ मा आफूहरुलाई २०० अर्ब बजेट चाहिने बताए ।
आर्थिक वर्ष २०७९र८० मा भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ६५ अर्ब रुपैयाँ बजेट पाएको थियो । तर आर्थिक वर्ष ०८०/८१ मा १ खर्ब ३१ अर्ब रुपैयाँ मात्र पाएको छ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई मधेश द्रुत मार्गलाई धेरै पैसा चाहिने भएकाले आगामी आर्थिक वर्षमा कम्तीमा २ खर्ब रुपैयाँ आवश्यक पर्ने बताएका हुन् ।


