काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको नापी र मालपोत कार्यालयका तत्कालीन प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरुले टीकापुरमा जंगलको नाममा रहेको १५ बिघा सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गरेको अख्तियारले आरोप लगाएको छ ।
सरकारी सार्वजनिक जग्गा गैरकानुनी तवरले व्यक्तिका नाममा कायम गरी २४ करोड ६ लाख ६९ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।
साबिक नारायणपुर गाविस वडा नं.८ को फिल्डबुकमा ०२१ मा जंगल जनिइसकेको कित्ता नं. १३९ बाट कित्ताकाट भई जंगल नै कायम रहेको कित्ता नं.३५१ को २७ बिघा १४ कट्ठा १७ धुर सरकारी सार्वजनिक जग्गा थियो।
त्यसमध्येबाट कित्ताकाट गरी स्रेस्ता कायम गराउने उद्देश्यले फिल्ड प्रतिवेदन तथा कित्ताकाटका लागि नापी कार्यालय, टीकापुरलाई पत्राचार गरिएको थियो। नापी कार्यालयले उक्त कित्ताको कित्ताकाट गरी कित्ता नं. ९०८ कायम गरेको थियो। त्यसको क्षेत्रफल १५ बिघा जग्गा व्यक्तिका नाममा जग्गाधनी स्रेस्ता पुर्जा बनाउन निर्णयार्थ टिप्पणी उठान गरी निर्णयसमेत गरेर हकभोगको जग्गा बनाइयो।


