काठमाडौं । मर्यादाक्रम अनुसार तलबमान निर्धारण गर्न सरकारका नाममा सम्मानित सर्वोच्च अदालतबाट परमादेश जारी गरेको र निजामती सेवाका राजपत्राङ्कित कर्मचारीहरुको आधारभूत तलबमानलाई मर्यादाक्रममा तादम्यता कायम गर्दा यसले निजामती सेवाका अन्य श्रेणीका कर्मचारीहरुलाई समेत प्रभाव पर्ने भएमा सोको समेत यथोचित सुनुवाई र व्यवस्थापन गर्नुपर्ने विषय आदेशमा उल्लेख रहेको भन्दै सबै पद र श्रेणीको पदासोपान बमोजिम तलबमान निर्धारण गर्न कर्मचारीहरुले माग गर्दै आएका छन्।
कुनै पनि तह र पदका कर्मचारीलाई अन्याय नहुने गरी सो फैसला कार्यान्वय गर्नु राज्यको कर्तव्य हो भन्दै तलबमान निर्धारणमा राजपत्र अनंकित कर्मचारीलाई बेवास्ता गरिएमा राजपत्र अनंकित कर्मचारीहरु आन्दोलनमा उत्रिन बाध्य हुने उनीहरुको भनाई छ ।
नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय सचिव समेत रहेका राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानका अभियन्ता प्रकाश भट्टराईले भने ” सरकारले सर्वोच्चको आदेश अविलम्ब कार्यान्वयन गर्नु पर्दछ । सँगसँगै तलब निर्धारण गर्दा तिनै तहमा कार्यरत सबै पद तथा श्रेणीका कर्मचारीको पदासोपान् एवं मर्यादाक्रम बमोजिम तलबमान निर्धारण गर्ने विश्वास पनि लिएका छौं, यदि सरकारले कुनैपनि वर्गका पदका कर्मचारीलाई विभेद गरेमा विभेदमा परेका कर्मचारीहरु आन्दोलनमा जान बाध्य हुन सक्छन्, त्यसतर्फ सरकारले विचार पुर्याउनु पर्छ । “


