काठमाडौं । काठमाडौंका एक जना नापी अधिकृत घुससहित पक्राउ परेका छन्। काठमाडौं नापी कार्यालय डिल्ली बजार ३ नम्बर टोली माछापोखरी काठमाडौंका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।
वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिलपत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउन अनावश्यक सास्ती, दुःख र हैरानी दिई घुस मागिरहेको उजुरीका आधारमा अख्तियारको टङ्गालस्थित कार्यालयबाट टोली खटिएको थियो।
अख्तियारका अनुसार वलीविरुद्ध घुस लिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। उनलाई विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।


