काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरण अभियोगमा व्यवसायी दीपक भट्ट, पूर्वअध्यक्ष शेखर गोल्छा, तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालसहित २० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
मुद्दामा उनीहरुका अतिरिक्त अमित मोर, साहिल अग्रवाल, सुवासकुमार झुनझुनवाला, साक्षी वंशल गुप्ता, रोहित गुप्ता, राजीव मोर र शुभेच्छा खरेललाई प्रतिवादी बनाइएको छ ।
यस्तै, कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल र चन्द्रशेखर राममूर्ति तथा तत्कालीन कार्यकारी निर्देशक मनिष कुमारलाई समेत बीमा सम्बन्धी कसुरमा संलग्न रहेको दाबी विभागले गरेको छ ।
अनुसन्धानका क्रममा हिमालयन रि–इन्स्योरेन्सले एलिएन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिलाई पुनर्बीमा ब्रोकर कमिसनको नाममा ठूलो रकम भुक्तानी गरेको र उक्त रकम योजनाबद्ध रूपमा अन्य कारोबारमा प्रयोग गरिएको निष्कर्ष विभागले निकालेको छ ।
