काठमाडौं । बाह्रबिसे नगरपालिका वडा नम्बर ८ नेपालगाउँमा नेपाल कुल भवनको लागि बागमती प्रदेश सरकारले १५ लाख रकम विनियोजन गरेको छ ।
नेपाल बंशका करिव ६० घरधुरी रहेको यस स्थानमा कुलपूजा भवनका लागि विगत केही वर्षदेखि नै प्रयास हुँदै आए पनि यसपालि बजेट विनियोजन भएको हो । बाह्रबिसे ८का कांग्रेस नेता युधीर पौडेल र नेपालगाउँका स्थानीय कांग्रेसका युवा नेता केशव नेपालको विशेष पहलमा बजेट विनियोजन भएको बताइएको छ ।
सशस्त्र प्रहरीबाट रिटाएर्ड नेपाल पछिल्लो समय राजनीतिमा निकै सक्रिय भएर लागेका छन् । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका नेता मोहन बस्नेत निकट हुन् । स्थानीय निर्वाचनमा पनि उनले आफ्नो वडामा रहेका अन्य दलका कार्यकर्तालाई कांग्रेस प्रवेश गराएका थिए । भवन निर्माण गर्न बजेट विनियोजन गर्ने विषयमा नेपालले बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतसँग समेत धेरै पटक छलफल गरेका थिए ।
उनले स्थानीय निर्वाचनको समयमा आफ्नो गाउँमा भवनको लागि रकम ब्यवस्था गर्ने प्रतिज्ञासमेत गरेका थिए ।


