काठमाडौं । भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सुकेधारास्थित यातायात कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध एक करोड १५ लाख रुपैयाँ आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सार्वजनिक सेवा प्रवेश गरेको १ साउन ०३८ देखि ०७५ मंसिर मसान्तसम्मको उनको आम्दानी र खर्चबारे अख्तियारले विश्लेषण गरेको थियो । जाँच अवधिमा भट्टराई र उनको एकासगोलको परिवार सदस्यको आय र व्ययको विश्लेषण गर्दा एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको आरोपपत्रमा उल्लेख छ ।
सार्वजनिक पदमा बहाल रहँदा प्राप्त गरेको तलबभत्ता, श्रीमतीको तलब, बाबुको तलब तथा पेन्सन, आमाको पेन्सन, कर्मचारी सञ्चय कोष सापटी, नागरिक लगानी कोष सापटी, राष्ट्रिय बिमा संस्थान सापटी, जग्गा बिक्री, कृषि आय, बैंक ब्याज, सेयर बिक्री, घरबहाल आय, वैदेशिक आय, बिमा दाबी फस्र्यौट , कर्मचारी सन्तति छात्रवृत्ति रकम, छोराको इन्टर्नसिप आय र ब्याजसहित मुद्दती बचतमा भएको आम्दानीजस्ता आयस्रोत अख्तियारले हेरेको थियो । जाँच अवधिमा यी शीर्षकमा उनको आम्दानी एक करोड ९२ लाख एक हजार नौ सय २२ देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।


