काठमाडौं । वरिष्ठ पत्रकार माधव नेपाल अग्निशिखा स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान प्रदान गरिएको हो ।
विगत साढे दुई दशकदेखि पत्रकारिता गर्दै आएका नेपाल प्रेस चौतारी नेपालको पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । उनले राजधानी दैनिक, सूर्योदय साप्ताहिक न्यूज २४ टेलिभिजन, जनप्रशासन अनलाइनमा काम गरिसकेका छन् । नेपाल सिन्धपाल्चोक बाह्रबिसे–८ का स्थायी बासिन्दा हुन् ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले उनलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
यसैगरी अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीले हृदयचन्द्रसिंह प्रधान स्मृति पुरस्कार पाएका छन् भने वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार रौतहटका फनिदेव महतले पाएका छन् । सावित्रीदेवी– पद्मलक्ष्मी बस्नेत स्मृति पुरस्कारबाट काभ्रेकी काजल तामाङ सम्मानित भएकी छिन् । यसैगरी चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पुरस्कार रामेछापकी यसिमा महतले पाएकी छिन् । रुकुमका महेश केसीले डेकेन्द्र थापा स्मृति पुरस्कार पाए ।


