काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गरेका छन्।
पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहेका गुरुङले पार्टी पदाधिकारीको चयन आवश्यकता अनुसार केन्द्रीय कमिटी बैठक बसेर उपयुक्त समयमा निर्णय लिने बताए। सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले पदाधिकारी नियुक्ती कहिले हुन्छ भन्ने प्रश्नमा आगामी असार १५ गते बस्ने बैठकले त्यसबारे आवश्यक निर्णय लिन सक्ने उनले जवाफ दिएका थिए ।
नेता गुरुङले भने, ‘पदाधिकारीको विषयमा पार्टीले आवश्यकताअनुसार केन्द्रीय कमिटीको बैठक बसेर उपयुक्त निर्णय गर्न सक्छ। असार १५ गते केन्द्रीय कमिटी बस्ने भनिएको छ। सम्भवतः त्यो बैठकमा पनि हुन सक्छ। एमाले अध्यक्ष ओली र नेता नारायणकाजी बीचको भेटघाट एउटै सदनमा, एउटै प्रक्रियामा रहेपछि नहुने प्रश्नै भएन। राष्ट्रिय स्वाधिनताको प्रश्नमा जोसँग विचार मिल्छ हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौं। विगतमा एमालेले संसद विघटन गरेर प्रतिगमनतिर गएकाले काँग्रेससँग सहकार्य गरेर स्थानी तह निर्वाचनमा जानु परेको हो।’


