काठमाडौं । आजबाट अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विहीबारबाट आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १०५ अर्थात ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ । १ सय रुपैयाँ अंकित मूल्यमा ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन भएको छ ।
यसमा २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् भने बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दा बाहेकका दैलेख जिल्ला बासिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।


