काठमाडौं । आजबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयनमा आउँदै छ।
सम्झौताअनुसार एमसीसी आज (१३ भदौ) देखि कार्यान्वयनमा आउन लागेको हो। यो परियोजना आजदेखि पाँच वर्षभित्रम सम्पन्न हुने सम्झौतामा उल्लेख छ। एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ। यसमा नेपालले १३ करोड डलर थप गरेको छ।
यो सहयोगले काठमाडौंको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारणलाइन र सवस्टेशनहरु निर्माण हुनेछन्।
यसमा कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नतीको काम पनि समेटिएको छ। यो परियोजनाको विषयमा विवाद भएपछि प्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीलाई अनुमोदन गरेको थियो। नेपालको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकारेको छ।
नेपालमा एमसीसी कार्यान्वयनमा जाने अघिल्लो दिन एमसीसी उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका छन्।


