काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्दै छिन् ।
नेकपा (एमाले) विभाजनपछि अल्पमतमा परेकी शाक्यले आज शुरू हुने वाग्मती प्रदेशको नवौँ अधिवेशनमा विश्वासको मतका लागि प्रस्ताव राख्दै छिन् । दिउँसो ३ बजे बस्ने संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने राजनीतिक सल्लाहकार माधव अर्यालले जानकारी दिए ।
जम्मा १०९ प्रदेशसभा सदस्य रहेको वाग्मती प्रदेशमा सरकार जोगाउन कम्तीमा ५५ सांसद चाहिन्छ । भदौ २ मा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री शाक्यले संसदममा विश्वासको मत पाउने सम्भावना कम छ । तथापि अरु दलको साझेदारीमा बहुमत प्राप्त गर्न सकिने अपेक्षा एमालेको छ ।
४३ जना सांसद रहेको एमालेले गठबन्धनबाहिर रहेका विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग सहकार्य गर्दा पनि आवश्यक मत पुर्याउन सक्दैन।
प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जनता सामाजवादी पार्टीका एकसहित विपक्षी गठबन्धनसँग ६० प्रदेशसभा सदस्य छन् ।