काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी बैशाख १२, १३ र १४ गते हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्ने भएको छ ।
एक्स्पो आयोजनाका लागि इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा विकास मार्गचित्र तयार गरेर १० हजार मेगावाट विद्युत भारतमा र ५ हजार मेगावाट बंगलादेशमा र १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक रुपमा खपत गर्ने योजना बनाएको छ ।
नेपाल र भारतबीच नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता हालै भएको छ । यस्तो अवस्थामा जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।
एक्स्पोमा जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने मेसिनरी औजारहरु, बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, सिमेन्ट, डण्डी लगायतका सामाग्रीको प्रदर्शनी हुनेछ । यस सँगै जलविद्युत, सोलार, हाइड्रोजन लगायतका विषयमा सेमिनार तथा छलफलहरुसमेत आयोजना गरिने छ ।


