काठमाडौं । कांग्रेस उपसभापति तथा १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेका छन् । नेता पौडेल बिहीबारको केन्द्रीय समितिको बैठकमा सहभागी नभएको तथा आजको महाधिवेशन उद्घाटन समारोहमा समेत उपस्थित नहुने चर्चा चलेपछि निधिले पौडेललाई फोन गरेका हुन् ।
सो क्रममा निधिले पार्टीका शीर्ष नेता उद्घाटन समारोहमा सहभागी हुनुपर्ने भन्दै सम्मानित नेता पौडेलको सहभागिता जरुरी रहेको बताए । जवाफमा पौडेलले आफू सहभागी हुने बताएको निधिले जानकारी दिए । नेता पौडेल आफू समूहका नेताहरुको बैठकमा समेत सहमतिमा उम्मेदवार चयन हुन नसकेपछि निराश बनेका छन् भने सोही निराशापछि उनले पार्टीबाटै सन्यास लिने अभिव्यक्ति दिएका थिए ।