काठमाडौं । नेपाली काँग्रेसको सभापति पदका लागि भएको चुनावमा पहिलो चरणबाट नतिजा नआउने भएपछि गृहमन्त्री बालकृष्ण खाण शेरबहादुर देउवाको पक्षमा प्रकाशमानलाई फकाउन चाक्सीबारीस्थित सिंह निवासमा पुगेका छन् ।
पहिलो चरणको चुनावमा सिंहले तेस्रो स्थानको मत हासिल गरेका छन् । सिंहले सघाउँदा दोस्रो चरणमा देउवाले जित्ने निश्चित देखेपछि खाण सिंहलाई भेट्न पुगेका हुन् ।
नेपाली कांग्रेसको सभापतिका लागि पहिलो चरणको मतगणना सकिएको छ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।
कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्, त्यसले सभापतिमा जितको आधार तय गर्नेछ ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।