काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले तातोपानी नाका सहज रुपमा सञ्चालन गर्न आफूले थप पहल गर्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल हिमालय सीमापार वाणिज्य संघको २२ औं साधारणसभा समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग यसबारेमा छिट्टै भेटवार्ता हुने बताए ।
आफू यस क्षेत्रकै भएकोले हाल नेपाली ब्यावसायीहरुलाई परेको समस्या आफूले राम्ररी बुझेको उल्लेख गर्दै नेता बस्नेतले कोभिडपछि चीनले तातोपानी र रसुवा नाका पूर्ण रुपमा सञ्चालन नगर्दा समस्या आएको बताए । उनले लार्चामा सुख्खा बन्दरगाह चाहिन्छ भनेर पहिलोपटक संसदमा आवाज उठाउने काम आफूले गरेको दावी समेत गरे । उनले नेपाल चीन ब्यावसायमा संलग्न नेपालीहरुलाई हाल उनीहरुले भोग्नुपरेको समस्यालाई बुँदागत रुपमा उठाउन आग्रह गर्दै त्यसको समाधानको लागि सम्बन्धित निकाय मार्फत थप पहल गर्न सदैव तयार रहेको बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले पछिल्लो समय नेपालको अर्थतन्त्र खस्केको उल्लेख गर्दै सरकारले आयात ब्यापारलाई जबरजस्ती रोके स्थिति अझै भयावह हुने दावी गरे । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले नेपालको उत्तरी नाकामा देखापरेको समस्या समाधानका लागि संघले निरन्तर रुपमा पहल गरिरहेको उल्लेख गरे । उनले यस विषयमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, वाणिज्य मन्त्रीलाई भेटेर नै समस्याबारे अवगत गराइएको बताए । उनले संघले सामाजिक कामसमेत गरिरहेको बताए ।
गतवर्ष मेलम्ची हेलम्बु र दोलखाका बाढिपिडीतलाई सहयोग गरेको, कोभिड नियन्त्रणका लागि आवश्यक कुराहरु वितरण गरेको तातोपानीमा आयोजना भएको खेलकुदलाई सहयोग गरेको जानकारी दिए । कार्यक्रममा बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिना भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा, वडा नम्बर २ का वडा अध्यक्ष कुमार श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष निमा सोना शेर्पालाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रामहरि कार्कीले स्वागत मन्तब्य राखेका थिए ।