काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्व पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् ।
जनकपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाए ।
केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको उनको भनाइ छ ।
पदाधिकारीले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चाररचार पटक मिति परिवर्तन गरेको भन्दै अब कुनै हालतमा पनि मिति सार्न नदिने सिंहले चेतावनी दिए । तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्ने उनको भनाइ छ ।
आफ्नो स्वार्थ पुरा गर्न हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको भन्दै उनले निर्वाचन समितिलाई तत्काल क्रियाशील सदस्यको सूची जिम्मा लगाउन नेतृत्वसँग आग्रह गरे।
१४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बनेरै छाड्ने दृढता देखाउँदै सिंहले भने, ‘महाधिवेशन शुरु भइसक्यो, क्रियाशील सदस्य नदिने के तरिका हो यो ? परिणाम आफ्नो पक्षमा पार्नका लागि यो सबै खेल भइरहेको छ ।’