काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए ।
सन् १९७१ अक्टोबर १० मा जन्मिएका उनले सन् १९९७ नोभेम्बरमा नेपाल विद्युत् प्राधिकरणमा सेवा प्रवेश गरेका हुन् ।
उनले भारतको अलिगढ मुस्लिम विश्वविद्यालयबाट सन् १९९६ मा विद्युत् इन्जिनियरिङमा स्नातक तहको अध्ययन पूरा गरेका छन् । त्यस्तै, त्रिभुवन विश्वविद्यालय, पुल्चोक क्याम्पसबाट सन् २००५ मा सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।
यसअघि उनी वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक तथा कामू कार्यकारी निर्देशक थिए । सरकारले सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ ल्याएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य पदमुक्त भएका थिए र सो पद खाली थियो ।


