काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीच व्यापार तथा लगानी सहकार्यलाई सुदृढ बनाउनुपर्ने बताएका छन् ।
ढकालले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ र रुसी संघको उद्योग वाणिज्य संघबीच नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भएको भेटवार्तामा यस्तो बताएका हुन्।
रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको प्रतिनिधिमण्डलको नेतृत्व यसका अध्यक्ष सर्गेई कातरिनले गरेका थिए।
भेटमा ढकालले नेपाल उद्योग वाणिज्य महासंघ स्थापना भएदेखि नै द्विपक्षीय व्यापारिक सम्पर्क र अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई अगाडि बढाउने र सहजीकरण गर्दै आएको बताए। उनले नेपाल उद्योग वाणिज्य महासंघ र रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबीच २०११ जुलाई २५ मा मस्कोमा सहयोग सम्झौतामा हस्ताक्षर गरी औपचारिक सम्बन्ध स्थापना भएको १३ वर्ष पूरा भएको बताए।


