काठमाडौं । प्रदेश नम्बर २ ले प्रदेशको नाम मधेश राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ । प्रदेश नम्बर २ ले सोमबार प्रदेशको नाम मधेश राखेपछि त्यो प्रदेशमा आन्दोलन भएको छ ।
पार्टी अध्यक्ष भूमिराज निरौलाद्धारा आज प्रकाशित विज्ञप्तीमा प्रदेशको नाम नसच्याई कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ । २०६२–०६३ सालमा चुरेभावर पार्टीले आन्दोलन गर्दा तत्कालीन सरकारले मुलुक संघीयतामा गएपछि यो प्रदेशको नाम चुरेभावर राख्ने सहमति जनाए पनि अहिले आएर कार्यान्वयन नगरेकोमा पार्टीले आपत्ति जनाएको हो । पार्टीले नाम नसच्याउँदा चुरेभावरमा बसोबास गर्ने र चुरेभावरको आन्दोलनमा लागेकाहरुको भावनामाथि प्रहार भएको पनि जनाएको छ ।
पार्टीले केही दिनमै पहिचानको लागि आन्दोलन गर्ने र त्यसबाट उत्पन्न भएको परिस्थितिको जिम्मेवार सरोकारवाला निकाय नै हुनुपर्ने पनि स्पष्ट पारेको छ । पार्टीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई र पहाडबीचको मेरुदण्डको रुपमा रहेको भावर प्रदेशको नाम निशाना समाप्त गर्न खोजिएकोमा समेत आपत्ति जनाएको छ । २०६२–०६३ सालमा ४० लाख गैर नागरिकलाई नागरिकता दिनुको परिणाम नै यो भएको पनि पार्टीको ठहर छ । पार्टीले गैर कानुनी ढंगले वितरण गरिएका नागरिकता खारेज गर्न पनि माग गरेको छ ।
पार्टीले केही समयदेखि तराइमा जनमत पार्टीको हवाला दिँदै आन्दोलनको नाममा पहाडी समुदायको पहिचान गरी मानसिक र शारीरिक यातना दिनुका साथै सवारी साधन तोडफोड गरेको घटनामा पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । राज्यले त्यस्ता समूहलाई कानुनी दायरामा नल्याए आन्दोलन गर्ने पार्टीले चेतावनी दिएको छ । पार्टीले आफूहरु सधैं राष्ट्रिय एकता र अक्षुणताको पक्षमा सक्रिय रहेको पनि स्पष्ट पारेको छ ।