काठमाडौं । पार्टीलाई पुरानै संरचनामा फर्काउने सहमतिपछि इन्चार्ज खान एमालेमै बसेका भीम रावल र माओवादी छोडेर मन्त्री खान एमाले बनेका लेखराजभट्टकै कारण एमालेको बैठकमा नै निकै तनावपूर्ण भएको अवस्थालाई ध्यानमा राख्दै एमालेले पार्टीको सुदूरपश्चिम इन्चार्ज भीम रावल कि लेखराज भट्ट भन्ने विवाद मिलाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकमा सुदूरपश्चिम इन्चार्जबारे छलफल भएको र रावल र भट्टमध्ये एकलाई अर्को जिम्मेवारी दिएर मिलाउन सकिने स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले बताए ।
उनले रावल र भट्टको जिम्मेवारी विवादमा उच्चस्तरीय कार्यदलका नेताहरूसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले मिलाउने बताए । ‘जेठ २ लागू भइसकेको छ । सुदूरपश्चिमको हकमा उच्चस्तरीय कार्यदलसँगको सल्लाहमा अध्यक्षले मिलाउनुहुन्छ’ नेता गुरुङको भनाइ छ ।
त्यस्तै सोमबारको स्थायी कमिटीमा विधान महाधिवेशनमा पेश गर्नेगरी आइतबार केन्द्रीय कमिटी बैठकले पारित गरेका तीन प्रतिवेदनमाथि आएका सुझाव समेट्नेबारे सामान्य छलफल भएको उनले जानकारी दिए । ओलीले सुदूरपश्चिम इन्चार्जमा लेखराज नै रहने कुरा यसअघि नै बताइसकेका छन् । पार्टी बैठकमा केही नबोल्ने भन्दै भीम रावल मौन बसेर अध्यक्षलाई फकाएको चर्चा एमाले वृत्तमा ब्यापक बनेको थियो ।