धादिङ । धादिङ, नुवाकोट र रसुवा जिल्ला सुरक्षा समितिका पदाधिकारीसँगको समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठक बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा आज धादिङमा बैठक सम्पन्न भएको हो ।
मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र आगामी योजनाबारे धादिङ, नुवाकोट र रसुवाका प्रमुख जिल्ला अधिकारीहरू क्रमशः रमेश ढकाल, किरण थापा र प्रकाशचन्द्र अधिकारीले जानकारी गराएका थिए । संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध राजावादी र पश्चगामी सोच राख्ने कतिपय शक्तिहरू सदन र सडकमा सक्रिय भइरहेको र त्यस्ता संविधानविरोधी शक्तिलाई संविधानको दायराभित्र ल्याउन राज्य कडा रूपमा प्रस्तुत हुनुपरे पनि पछि नहट्ने मन्त्री श्रेष्ठले बताए । उनले गणतन्त्रमा पनि कतिपय पञ्चायतकालीन ऐन, कानुन अनुसार काम गर्नुपर्दा सरकार, प्रशासन र जनताबीच अन्तरविरोध रहेको बताए र
उनले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार ऐन, कानुन बनाउन पहल गर्ने प्रतिबद्धता गरे । मदिरा ऐन–२०३१ ले घरेलु मदिरालाई गैरकानुनी ठहर गर्दै उत्पादन र बिक्री वतरणमा रोक लगाएको त्यस्तै गाँजालाई लागू औषध नियन्त्रण ऐन – २०३३ ले लागू औषधको रूपमा व्याख्या गरेको प्रसंग कोट्याउँदै मन्त्री श्रेष्ठले ती ऐनहरू समयानुकूल संशोधन गरेर कोदोको रक्सी र गाँजालाई वैध बनाउन आफूले पहल गर्ने जानकारी पनि गराए ।
सवारी दुर्घटना, प्राकृतिक विपद्को व्यवस्थापन, वित्तीय अपराध, साइबर अपराध, नदीजन्य पदार्थको चोरी तस्करी, लागूऔषध नियन्त्रण, आत्महत्या, घरेलु हिंसाजस्ता समस्याहरू सबैजसो जिल्लाको सुरक्षा चुनौतीको रुपमा रहेको मन्त्री श्रेष्ठले जानकारी गराए । उनले ऐन बनेर पनि प्रहरी समायोजन नहुनु, निजामती कर्मचारी समायोजन सम्बन्धी ऐन नबन्नु विडम्बनापूर्ण रहेको भन्दै अधिकारविहीन रूपमा प्रदेशले काम गर्नुपर्दा जनतामा प्रदेश र संघीयताप्रति नै प्रश्न उठन थालेको बताए ।


