काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । चुनावबारे छलफल गर्नका लागि भन्दै प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
समयमै निर्वाचन नगर्ने नियत देखिएको र यो अवस्थामा सर्वदलीय बैठकमा सहभागी हुनुको औचित्य नरहेको उनले बताए । स्थानीय निर्वाचन नगर्ने नियतका साथ सर्वदलीय बोलाएका कारण आफूहरु सहभागी नहुने ज्ञवालीको भनाइ छ ।
बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषयमा भोलि पत्रकार सम्मेलन गर्दैछन् ।
प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायतका विषयमा भोलि पत्रकार सम्मेलनमार्फत् एमालेले आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्ने तयारी हेको छ ।
यस्तै जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गर्दै एकाबिहानै ट्वीट गरेका छन् ।
सर्वदलीय बैठक बस्नु केही बेरअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ओलीलाई हिटलरसँग तुलना गर्दै एक ट्वीट गरेका हुन् ।
संसद खुलाउन, सर्वोच्च अदालतमा रहेको समस्या निराकरण गर्न पटकपटक सर्वदलीय बैठक बोलाए पनि प्रमुख प्रतिपक्षी दल एमालले भने बहिस्कार गर्दै आएको छ। बैधानिक सरकारले बोलाएको बैठक पटकपटक बहिस्कार गर्नेहरु नवफासिवादी भएको बाबुरामको आरोप रहेको छ।