काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले देशको अर्थतन्त्रमा दवाव रहेको बताएका छन् ।
मन्त्री महतले बुधबार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा यस्तो उल्लेख गरेका हुन्।
उनले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरूको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए। मुलुकको अर्थतन्त्रलाई गति दिन सत्तापक्ष र विपक्ष मिलेर साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने विषयमा सहमत रहेको उनले बताए।
सदनमा सदस्यहरूले भनेजस्तो अर्थतन्त्रमा दबाब भए पनि कहालीलाग्दो अवस्था नभएको उनले बताए। अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गर्ने ठोस प्रतिबद्धता सरकारसँग रहेको बताए। अर्थतन्त्रमा समस्याका चाङ रहेको स्वीकार गर्दै समस्या समाधान गर्न केही समय लाग्ने उल्लेख गरे।


