काठमाडौं । निकै लामो समयदेखि बस्न नसकेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने छ ।
त्यसअघि बैठकका एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान नौ बजे कांग्रेस शीर्ष नेताहरुको बैठक बस्ने छ ।
शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई(दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो ।


