काठमाडौं । बाँसबारी जग्गा प्रकरणमा उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।
आज बिहान सरकारी वकिलको कार्यालयमा आफैँ पुगेका चौधरीसँग सीआईबीले झण्डै दुई घण्टा बयान लिएको हो । बयान दिएर निस्कने क्रममा चौधरीले जग्गा प्रकरणका नाममा आफूमाथि राजनीतिकरण गरिएको बताए ।
“म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदा नेपालका उद्यमी र करदाताले कुन सन्देश लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो,” चौधरीले बयानपछि पत्रकारहरुसँग कुरा गर्दै भने, “मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउनुपर्दैन । यस्ता गतिविधिबाट उद्यमी, लगानीकर्तालाई हतोत्साहित गर्छ । राजनीतिका आफ्ना तरिका छन् । म पनि नवलपरासीबाट निर्वाचित सांसद हुँ ।”


