राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास गरेर बाहिरिँदै गर्दा झण्डै १०० किलो सुन बरामद गरेको हो ।
राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो । भन्सार जाँच पास भएर सिनामंगल पुगेको सुनबारे भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले चाहिँ अनविज्ञता प्रकट गरेको छ ।


