काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत समस्याका कारण नेपालमा विदेशी लगानी बढ्न नसकेको टिप्पणी गरेका छन् ।
उनले सरकारद्वारा गठित कानुन सुधार समितिले दिएको सुझाव बमोजिम संशोधन प्रस्ताव पारित भई कार्यान्वयन भएमा स्वदेशी एवं विदेशी दुवै लगानी आकर्षित हुने बताए । सरकारले अगामी वैशाख महिनामा हुने लगानी सम्मेलनलाई लक्षित गरी प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालको संयोजकत्वमा कानुन सुधार समिति गठन गरी मौजुदा नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका लागि सुझाव लिएको थियो ।
समितिले मुलुकमा स्वदेशी एवं विदेशी लगानी आकर्षित गर्न एक दर्जन कानुन र नियमावलीमा संशोधन प्रस्ताव गरी नेपाल सरकारका मुख्य सचिव डा.वैकुण्ठ अर्याललाई हस्तान्तरण गरेको छ । ढकालले समितिले दिएका सुझावहरु सकारात्मक रहेको बताउँदै नीतिगत सुधारका लागि पेश भएका संशोधन प्रस्ताव पारित भई कार्यान्वयन भएमा स्वदेशी एवं विदेशी निजी क्षेत्र आकर्षित हुने अपेक्षा गर्न सकिने बताएका छन् । ढकाल उक्त समितिको सदस्य हुन् ।


