काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले दर्ज्यानी चिह्न लगाएका छन्। आइतबार उनलाई गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
कार्यक्रममा नवनियुक्त आईजीपी कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताए।
प्रहरी संगठनमा सुधार आवश्यक रहेकाले आन्तरिक सुदृढीकरणमा विशेष ध्यान दिइने उनको भनाइ छ। आफूले निष्पक्ष काम गर्ने र कानुन कार्यान्वयनमा नडगमगाउने प्रतिबद्धता उनले जनाए।
मुलुकभर शान्ति–सुरक्षा कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय गरेर अघि बढ्ने योजना रहेको उनले बताए। १० चैतमा कुँवरलाई मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरेको थियो।


