काठमाडौं । गत असार १ गते वागमती प्रदेश सरकारले ल्याएको बजेटमा बाह्रबिसे नगरपालिका – ८ अन्तर्गतका केही योजनाहरु आफूले पहल गरेर पारेको नेपाली कांग्रेसले बताएको छ ।
नेपाली कांग्रेसका स्थानीय युवा नेता युधीर पौडेलले यी योजनाहरु बजेटमा पार्नमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत, बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, सिंगो पार्टी कमिटी लागिपरेको बताए । त्यसमा आफ्नो झन् सक्रियता रहेको जिकिर गरे ।
उनले यी योजनाहरुमा बजेट विनियोजन गराउन आफू धेरै पटक प्रदेशका मन्त्रालय धाएको दावी गरे ।
उनका अनुसार नेपालगाउँमा नेपाल कुल भवन निर्माणको लागि १५ लाख, काभ्रे खोला –खिपिङ सडक स्तरोन्नति गर्न १५ लाख, काभ्रे खोला – खिपिङ देबिथान महभीर सडकका लागि १५ लाख, खानेपानी योजनाको लागि ५० लाख, खिपिङ खानेपानी योजनामा ६५ लाख, चुल्ठि– घुडे सडकका लागि १५ लाख, जम्बु पहिरो नियन्त्रण गर्न १५ लाख, खानीगाँउ पहिरो नियन्त्रण गर्न १० लाख, पसल डाडा –महाकाली माख्लो गाउँ सडक १५ लाख, घट्टेखोला पुछार मानेश्वारामा रहेको झोलुङ्गे पुल १५ लाख एवं मानेश्वारा स्वास्थ्य चौकीमा घेराबार गर्न १० लाख बजेट आफूहरुको विशेष पहलमा परेको बताए ।


