काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना सन्देश पठाएका छन् ।
राष्ट्रपतिले पठाएको समवेदना सन्देशमा प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी एवं महिला नेत्री सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान भएको असामयिक निधनले आफूलाई अत्यन्तै दुःखी बनाएको उल्लेख छ ।
समाज रूपान्तरणका क्रममा भएका सशस्त्र सङ्घर्षलगायत संघीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ । ‘समाज रूपान्तरण र राजनीतिक परिवर्तनमात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवं कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, सन्देशमा भनिएको छ ।


