काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता भएको छ । आज (सोमबार) लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्
गत पुस अन्तिम साता मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी बैंकले करिब साढे चार महिनापछि अन्तिम सम्झौता गरेका हुन् । यी बैंकबीच समान सेयर मिलान अनुपात (१ : १ स्वाप रेसियो) का आधारमा मर्जर तय भएको छ । यसको अर्थ मर्जरपछि पनि दुबै बैंकका सेयरधनीको सेयर कित्ता हालकै बराबर हुने छ ।
मर्जर पूरा भएपछि यो बैंक ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ को नामबाट सञ्चालनमा आउने छ भने बैंकको प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह हुनेछन् । शाह हाल लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । बैंक सञ्चालक समितिमा दुबै बैंकबाट तीनरतीन जनाले प्रतिनिधित्व गर्नेछन् भने एक जना स्वतन्त्र सञ्चालक हुनेछन् ।
अन्तिम सम्झौतापछि दुबै बैंकले आ–आफ्नो साधारणसभाबाट उक्त प्रस्ताव पारित गर्नुपर्नेछ । मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी करिब २१ अर्ब ६७ करोड पुग्ने बताइएको छ ।


