काठमाडौं । आज प्रतिनिधि सभाका संसदीय समितिका सभापति निर्वाचित हुँदै छ ।
सोमबारका लागि तय भएको १० वटा संसदीय समितिको सभापतिका लागि नौ वटा समितिमा एकल मनोनयन दर्ता भएकाले निर्विरोध निर्वाचित भइसकेका छन्, यद्यपि घोषणा हुन बाँकी छ, भने एउटा समितिमा दुई जनाको मनोनयन परेका कारण निर्वाचन प्रक्रियाबाट सभापति चयन हुँदैछ ।
जसमा सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट अर्थ समितिमा सन्तोष चालिसे, कृषि समितिमा आरजु राणा र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरी खतिवडाको उम्मेदवारी परेको छ । त्यस्तै, प्रमुख प्रतिपक्ष ९एमाले०बाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साहको उम्मेदवारी दर्ता भएछ । सार्वजनिक खर्चमा निगरानी गर्ने भूमिका हुने हुँदा लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले लिने संसदीय अभ्यास छ ।
अर्को सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) बाट कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदीले उम्मेदवारी दर्ता गराएकी छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवको उम्मेदवारी परेको छ ।
नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशीले शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति सभापतिमा उम्मेदवारी दिएका छन् । जसपा र एकीकृत समाजवादी सत्ता गठबन्धनमा छन् । प्रतिपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिमा उम्मेदवारी दर्ता गराएका छन् । यो समितिमा माओवादीबाट माधव सापकोटाले उम्मेदवारी दिने तयारी गरेका थिए ।


