विमानस्थलमा हुने अनियमितताको अन्त्य गर्छु : मन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताएका छन्। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किएका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाए ।
अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यहाँका पसलले यात्रुलाई चिया, कफीमा समेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्ण रूपमा पालना नगरेको पाइएको भन्दै उनले ती कमीकमजोरीको अन्त्य गर्ने बताए ।
यसैगरी, मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेको सो विषयमा निगमका निर्देशकसँग लिखित जवाफ माग गरेको जानकारी दिए।