टेक लामा वाइबा लस–एन्जलस अमेरिका । तमाङ्ग समुदायको नयाँ वर्ष २८५९औ सोनाम ल्होसारको अवसरमा तमाङ्ग सोसाइटी लस–एन्जलसले स्थानीय आर्टेसिया पार्कमा विविध नेपाली सांस्कृतिक कार्यक्रमसहितको बनभोज कार्यक्रम हालै सम्पन्न भएको छ । उक्त बनभोज कार्यक्रममा दक्षिण क्यालिफोर्नियाको लस–एन्जल्समा रहेका झण्डै ६सयभन्दा बढी नेपालीहरुको उल्लेख्य सहभागिता रहेकोे थियो । उक्त कार्यक्रममा चर्चित दोहोरी गायक कृष्ण देवकोटाले बेजोड प्रस्तुति गरेका थिए ।
कार्यक्रममा आयोजक सस्थां तामाङ्ग सोसाइटी लस–एन्जलसका अध्यक्ष टेक लामा वाइबाले २८५९ औं सोनाम लोहसारको अवसरमा शुभकामना ब्यक्त गरेका थिए । यसका साथै कार्यक्रममा विभिन्न नेपाली स्वादका खानाको परिकारसहित बृहद सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त बनभोज कार्यक्रममा भलिवल प्रतियोगिता, म्युजिकल चेयर, लक्की ड्र लगायतको खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।
वनभोज कार्यक्रममा भलिवल प्रतियोगितामा अनिल केसी समूह प्रथम, रामचन्द्र लामिछानेको समुह दोस्रो, युवाहरुको समूह तेस्रो भएको थियो । भलिवल प्रतियोगिताको संयोजन अनिल केसी, मनिराज न्यौपाने र रामचन्द्र लामिछानेले गर्नु भएको थियो। सामाजिक अभियन्ता सारदा श्रेष्ठको संयोजकत्वमा म्युजिकल चेयर प्रतियोगिता भएको थियो भने सहभागी खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो।
वनभोज कार्यक्रमा क्यालिफोर्नियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत ऋषि ढकालले नेपाली मुलका तमाङ्ग समुदायले आफ्नो मौलिक संस्कृति जोगाएमा खुशी व्यक्त गर्दै नेपालीपनलाई अक्षुण्ण राख्नमा तामाङ्ग सोसाइटी लस–एन्जलसले गरेको कामको प्रशसा गरेका थिए ।

सोही वनभोज कार्यक्रममा पशुपतिनाथ फाउन्डेसनका पदाधिकारी, मधोशी, सुदुर पश्चिम, गुरुङ, मगर, नेवार र तामाङ्ग लगायतका नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
यहाँस्थित जेठो नेपाली अमेरिकन बेद्भक्त जोशीको नृत्यलाई बनभोजका सहभागीहरुले खुलेर रमाइलो गरेका थिए भने सो कार्यक्रमलाई सहयोग पुर्याउनु हुने व्यवसायीहरुलाई तामाङ्ग सोसाइटीका अध्यक्ष टेक वाईवा लामाले धन्यवाद ज्ञापन गरेका थिए । वनभोजमा आयोजित खेलकुद प्रतियोगिता र मनोरंजन कार्यक्रम उद्घोषण रोशन अधिकारीले गरेका थिए भने स्थानीय समाजसेवी कृष्ण कोइराला, अग्नि चौलागाईं र इन्द्रराज पाण्डेले कार्यक्रम संयोजन गरेका थिए ।


