काठमाडौं । विश्व हिन्दु युवा संघको आयोजनामा विभिन्न राजनैतिक दलका उम्मेदवारहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार काठमाडौंको धुम्बाराहीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नं. ५ का उम्मेद्वार प्रदीप पौडेलले युवालाई स्वदेशमा नै दक्ष बनाई सिपमुलक क्षेत्रमा ब्यवस्थापन गर्नुपर्ने बताए । उनले आगामी निर्वाचनमा युवाको भूमिका महत्वपूर्ण भएको हुँदा देशको समृद्धिका लागि युवाको नेतृत्व आवश्यक भएको विचार ब्यक्त गरे ।
कांग्रेसकै प्रदेश उम्मेदवार भैरब सापकोटाले सक्षम र दक्ष युवाको योग्यता र क्षमतालाई सहि मार्गमा उपयोग गर्न सकेमा देशको मुहार चाँडै फेरिने कुरामा जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश उम्मेदवार राजेन्द्र प्रजापतिले काठमाडौं जस्तो साँस्कृतिक सहरको सुन्दरतालाई धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका साथ विकास गर्नु पर्नेमा आफुले जोड दिने प्रतिवद्धता ब्यक्त गरे ।
विश्व हिन्दु युवा संघ काठमाडौंको आयोजना तथा समन्वयमा आयोजित कार्यक्रममा विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले ‘युवा जनशक्तिलाई सनातन संस्कारयुक्त शिक्षा प्रदान गरी देश विकासको मुल गतिविधिमा सहभागि गराउँदै राष्ट्रिय समृद्धिको आधार निर्माण गर्नु पर्नेमा जोड दिए ।’ उनले नेपालको धार्मिक सहिष्णुतामा दलहरुले हेलचेक्रयाइ गरेको र हिन्दु धर्मलाई हरेक क्षेत्रबाट प्रहार भईरहेको समेत उल्लेख गरे ।
कार्यक्रममा विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले नेपालको मौलिकता बचाउन विभिन्न दलका नेतालाई आग्रह गरे । शाहले नेपालको मौलिकतालाई लत्याएर विदेशी मौलिकता ल्याउन खोजेको भन्दै स्वदेशमा नै भएका श्रोत र साधनको सदुपयोग गर्न आग्रह गरे ।
काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं.५ मा विभिन्न राजनैतिक दलबाट १५ उम्मेदवारहरु र स्वतन्त्र १४ गरी जम्मा २९ जनाले आगामी प्रतिनिधिसभा सदस्य पदको निर्बाचनमा भाग लिएका छन् ।
कार्यक्रम विश्व हिन्दु युवा संघ काठमाडौंका अध्यक्ष प्रनिश जंग शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।


