काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती कर्मचारी ऐनबारे पूर्वमन्त्रीहरुसँग छलफल गरेका छन् । उनले आइतबार मन्त्रालयमा पूर्वमन्त्रीहरुसँग परामर्श गरेका हुन् ।
छलफलमा पूर्व सामान्य प्रशासन मन्त्रीहरु हृ्दयेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ, लालबाबु पण्डित, टेकबहादुर बस्नेत र गणेश ठगुन्ना सहभागी थिए ।
मन्त्रालयका सचिव कृष्णहरी पुष्करसहित सहभागी छलफलमा संघीय निजामती ऐनलाई समय सापेक्ष रुपमा परिष्कृत गर्दै सकेसम्म छिटो संसदमा लैजाने विषयमा छलफल भएको मन्त्री मोदीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतले ऐनबारे चासो व्यक्त गरेपछि मन्त्री मोदीले विभिन्न पक्षसँग छलफल गरेर ऐनको मस्यौदालाई अन्तिम रुप दिने तयारी गरिरहेका छन् ।


